बौद्धको नयाँ पाटीस्थित एक घरमा ट्रेकिङ गाइडको शंकास्पद मृत्यु
काठमाण्डौ, २८ भदौं । काठमाण्डौको बौद्धस्थित नयाँ पाटीमा घरमै ट्रेकिङ गाईडको शंकास्पद मृत्यु भएको छ। गएराती साढे १२ बजे खोटाङ घर भई आरुबारीमा डेरा गरेर बस्ने ४० वर्षीय पासाङ शेर्पाको मृत्यु भएको महानगरीय प्रहरी वृत बौद्धले बताएको छ।
घट्नामा संलग्नता रहेको आशंकामा सोछपुछका लागि प्रहरीले एकजना महिलालाई नियन्त्रणमा लिएको छ । मध्यराती ट्याक्सीमा हालेर अस्पताल लैजान लागेको अवस्थामा प्रहरीले नयाँपाटीबाट शेर्पाको शव बरामद गरेको थियो।
मृतक शेर्पा साँझ ती महिलाको कोठामा गएका थिए भने त्यहाँ उनले अत्यधिक मदिरा सेवन गरेको र बान्ता समेत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरु दुवैजना डिभोर्सी हुन्।
शेर्पालाई स्वास्थ्य समस्या भएपछि आफुले ट्याक्सीमा राखेर अस्पताल लान खोजेको महिलाले प्रहरीलाई बताएकी छिन्। तर, पासाङले महिलाको कोठामा नै ज्यान गुमाइसकेका थिए।
त्रिवि शिक्षण अस्पताल महारागञ्जमा शवलाई पोष्टमार्टामका लागि पठाइएको छ भने शरीरमा चोटपटक नदेखिएको हुनाले पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ।