कुलमान घिसिङको कार्यकाल आज सकिँदै, पुनः नियुक्तिको निर्णय अझैसम्म भएन
काठमाण्डौ, २८ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ।
पुनः नियुक्ति नभए घिसिङ सोमबारदेखि प्राधिकरण नआउने प्राधिकरण स्रोतले जानकारी दिएको छ।
प्राधिकरण स्रोतका अनुसार प्राधिकरणमा उनलाई विदाइ गर्ने आज कुनै औपचारिक कार्यक्रम नभएको र आज रातिसम्म क्याबिनेटले पुनः नियुक्तिको निर्णय गरेन भने भोलिबाट उनी प्राधिकरण आउने छैनन्।
२०७३ साल भदौ २९ मा क्याबिनेट निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङले प्राधिकरण सम्हालेपछि लोडसेडिङमुक्त गराएका थिए। यसैकारण नेपाली नागरिकस्तरबाट पनि घिसिङलाई पुनः नियुक्तिका माग भइरहेका छन्।
ऊर्जा मन्त्रालयले प्राधिकरणमा घिसिङलाई पुनः नियुक्ति दिने प्रस्ताव मन्त्रिपरिषदमा नर्पुयाएको स्रोतको दाबी छ।