बाग्लुङ र पर्वतमा पहिरो जाँदा एक पुरुष र एक बालिकाको मृत्यु
काठमाण्डौ, २९ भदौ । सोमबार बिहान बाग्लुङ र पर्वतमा पहिरो जाँदा एक जना पुरुष र एक जना बालिकाको मृत्यु भएको छ।
जैमिनी नगरपालिका १ टुनिबोटबाट गएको पहिरोमा परेर ६१ वर्षीय हरिकृष्ण पौडेलको मृत्यु भएको मेयर इन्द्रराज पौडेलले बताएका छन्।
बिहान साढे ६ बजे पहिरो गएको थियो भने पहिरोले पाँच घर भत्किएको र पहिरोमा पुरिएका उनको शव निकालिएको मेयर पौडेलले बताएका छन्।
पौडेलका अनुसार सडकमाथिबाट खसेको पहिरोले सडक र घरसमेत भत्काएको छ।
पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो।
गए राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घर माथिबाट खसेको पहिरोले पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृत अवस्थामा फेला पारेका हुन्।
परिवारका अन्य व्यक्तिहरु भने पहिरो खसिरहेको अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरी चौकीले जनाएको छ । बाह्र जनाको संयुक्त परिवार बसेको घरमा पहिरोले क्षति पुर्याएको हो।