श्रीमतीको हत्या गरेर फरार अभियुक्त २० वर्षपछि पक्राउ
काठमाण्डौ, २९ भदौ । श्रीमतीको हत्या गरेर फरार भएका अभियुक्तलाई २० वर्षपछि प्रहरीले पक्राउ गरी कानुनी कारवाही थालेको छ।
दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो।
फरार भएका उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो भने अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दिलमाया आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन्। तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान गर्दा रिजालले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो । त्यसपछि उनी फरार भएका थिए।
उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ।