स्याङजामा बन्दुकसहित दुई जेष्ठ नागरिक पक्राउ
स्याङजा, २९ भदौ । प्रहरीले ४ थान बन्दुकसहित २ जना ज्येष्ठ नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओम बहादुर हमाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अवैधरूपमा हातहतियार राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले ठकुरी र हमालको घरमा खानतलासी गर्ने क्रममा भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने सामग्रीसमेत बरामद गरेको हो।
एक नाले भरुवा बन्दुक तीन थान र एक नाले १२ बोर बन्दुक एउटासँगै बारुद, टोटा, केप, ग्रिस डिब्बा, फलामको पाता, फलामको छर्रालगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुलाई आइतबार हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट २५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।