सौरहाका होटल असोज १ गतेदेखि खुल्ने
चितवन, ३१ भदौ । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौरहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन्।
गएको चैत ११ गतेदेखि लकडाउनका कारण बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि त्यही महिनाको २८ गतेदेखि फेरि निषेधाज्ञाका कारण बन्द भएका थिए भने सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै सौरहाका व्यवसायीले तयारी थालेका हुन्।
सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै बुधबारदेखि तयारी थालिएको छ भने कर्मचारी बोलाएर होटलले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको क्षेत्रीय होटल संघ सौरहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिएका छन्।
उनका अनुसार होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको हो।
सौराहामा एक सय १० होटल र एक सय हाराहारीमा साना ठूला रेस्टुरेन्ट छन् । सौरहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार पाँच सयभन्दा धेरै कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन्।