सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभापति देउवा होम क्वारेन्टिनमा
काठमाण्डौ, १ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम क्वारेन्टिनमा बसेका छन्। सचिवालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि देउवा बुढानिलकण्ठस्थित होम क्वारेन्टिनमा बसेका हुन्।
मंगलबार पिसिआर परीक्षणका लागि स्वाब दिइएको थियो भने बुधबार सचिवालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना पुष्टि भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।
संवैधानिक निकायहरूमा नियुक्तिका लागि प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने तयारी गरिरहेका बेला कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि देउवा बुधबारदेखि नै क्वारेन्टिनमा बसेका छन्।
त्यस्तै अब देउवा होम क्वारेन्टिनमा बसेका हुनाले केही दिन संवैधानिक निकायका नियुक्तिबारेको छलफल अगाडि नबढ्ने देखिएको छ।