प्रशासन कार्यालय काठमाण्डौले सेवा पुनः सञ्चालन गर्यो तर बार तोकेर सेवा दिइने
काठमाण्डौ, १ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम बढेको भन्दै साउन २५ देखि स्थगित गरेका केही सेवाहरु असोज ४ गते आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ।
बिहीबार प्रशासन कार्यालयले नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, संघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने सूचना जारी गर्दै कार्यालयमा भिड हुन नदिन सेवाग्राहीलाई स्थानीय तहअनुसार सेवा लिने बार पनि तोकिएको छ।
नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, नाबालिग परिचयपत्र, राहदानी, हातहातियार दर्ता नवीकरण सेवा लिन एक दिनमा दुईवटा नगरपालिकाका नागरिकमात्र आउन पाउने गरी प्रशासनले तालिका तयार गरेको छ।
सो तालिका अनुसार काठमाडौं महानगरपालिकाका सेवाग्राहीले आइतबार, मंगलबार र बिहीबार सेवा पाउनेछन्।
त्यस्तै कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले सोमबार, बुढानीलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाका सेवाग्राहीले बुधबार र गोकर्णेश्वर, दक्षिणकाली, शंकरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले शुक्रबार सेवा पाउने तालिकामा उल्लेख गरिएको छ।
यसैगरी सूचनामा उल्लेख भए अनुसार संस्था दर्ताको काम सोमबार र बुधबारमात्र हुनेछ, नवीकरण आइतबार, मंगलबार र बिहीबार हुनेछ।
पत्रपत्रिका र छापाखाना दर्ता र विधान संशोधनको काम शुक्रबार मात्रै हुनेछ र संघसंस्थाको प्रतिलिपि पत्रचारसम्बन्धी सेवा भने प्रत्येक दिनको ४ बजेपछि गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
यसबाहेक शान्ति सुरक्षाको निवेदन र कानुन बमोजिम हुने मुद्दा सम्बन्धी कार्य, सरकारी कार्यालय र आयोजनासँग सम्बन्धित समन्वय र छलफलको काम भने हप्ताको छ दिन नै सञ्चालन हुने सूचनामा उल्लेख छ।