काठमाण्डौ महानगरको राजस्व अब घरबाटै अनलाइनमार्फत भुक्तान गर्न सकिने
काठमाण्डौ, १ असोज । काठमाण्डौ महानगरपालिकाले विद्युतीय प्रणाली (अनलाइन)मार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरूआत गरेको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत एकनारायण अर्यालले महानगरपालिकाको सातौं नगरसभाको निर्णय अनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरू भएको बताएका छन्।
उनका अनुसार सेवाग्राहीहरूले समयमा कर तिर्न नपाएको, सेवा समयमा नपाएको गुनासो महानगरलाई आउने भएकाले अब सबैले आफ्नो घर/घरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरूआत भएको हो।
महानगरपालिकाले आज वडा नम्बर २६ लगायत १० वटा वडाबाट सेवा सुचारू गरेको छ भने संघीय राजधानीमा रहेको स्थानीय तहले सुरू गरेको रचनात्मक कामले देशभरिका स्थानीय तहलाई सेवा सुरू गर्न सहज हुने वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताएका छन्।
उनका अनसार कागजी कामले विभिन्न समस्या हुने गरेकोमा अब त्यस्तो अवस्थाको अन्त्य हुनेछ।
अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने छ र साथै यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास महानगरपालिकाले लिएको छ।