नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित
काठमाण्डौ, १ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार सो सिफारिस शितल निवास पठाएको थियो।
राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको थियो।
गत फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमको नाम पठाउन सुझाव दिएपनि प्रधानमन्त्री केपी ओलीले उनको नाम सिफारिस नगरी निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउन चाहेका हुनाले प्रधानमन्त्री ओलीले सांसद नरहेपनि खतिवडालाई ६ महिनासम्म मन्त्री बनाए तर तर कसैको पनि नाम सिफारिस गरेनन्।
यसैगरी भदौ २० गते खतिवडाको ६ महिने कार्यकाल सकेर राजीनामा दिएपछि भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली आफैंले गौतमको नाम सिफारिस गर्ने जानकारी गराएका थिए।
त्यस्तै उपाध्यक्ष गौतम २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित उम्मेदवार पनि हुन्।