हन्ड्रेड ग्रुपका अध्यक्षमाथि भएको कुटपिट सम्बन्धमा महानगरीय प्रहरी कार्यालयले छानविन सुरु गर्यो
काठमाण्डौ, २ असोज । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका हन्ड्रेड ग्रुपका अध्यक्षमाथि भएको कुटपिट सम्बन्धमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले छानविन सुरू गरेको छ।
बिहीबार दिउँसो प्रदर्शनमा निस्किएका हन्ड्रेड ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि बबरमहलमा प्रहरीले लाठी, मुक्का तथा बुटले हानेका थिए।
सो घटनाको भिडिओ सार्वजनिक भएसँगै सामाजिक संजालमा प्रहरीको चर्को आलोचना सुरू भएको थियो भने प्रहरी प्रधान कार्यालयले रानीपोखरीलाई बिहीबार नै घटनामाथि छानविन गर्न निर्देशन दिएको थियो।
केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले हिजो नै सो घटनाप्रति ध्यानाकर्षण भएका हुनाले हिजो नै मेट्रोलाई छानविन गर्न निर्देशन दिइसकेको र छानविन हुने जानकारी दिएका छन्।
महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलका अनुसार को/को गएको, के भएको हो भन्नेबारे छानविन भइरहेको छ भने यसको लागि आज दिउँसो छानविन समिति गठन हुनेछ।
हन्ड्रेड ग्रुपका अध्यक्ष बब्लु गुप्ताले कुलमानलाई प्राधिकरणमा पुनः नियुक्ति माग्दै धर्ना बस्न र प्रदर्शन गर्न माइतीघर गइरहेका आफूहरूलाई प्रहरीले सम्झाइबुझाइ नगरी सिधै कुटपिट गरेको बताएका छन्।
७०/८० जनाको संख्यामा मोटरसाइकलमा गइरहेका उनीहरूलाई दिउँसो तीन बजे प्रहरीले बीच बाटोमा भ्यान ल्याएर रोक्दै मोटरसाइकलबाट ओरालीमाथिको आदेश भन्दै कुटपिट गरेको थियो।