चितवनका एक सय दश स्वास्थ्यकर्मी कोरोना संक्रमणमुक्त
चितवन, २ असोज । चितवनका एक सय दश जना स्वास्थ्यकर्मी कोरोना संक्रमणमुक्त भई काममा फर्केका छन्। अहिलेसम्म १३ जना डाक्टर, ४७ जना नर्ससहित एक सय दश स्वास्थ्यकर्मी संक्रमणमुक्त भएर पुनः काममा फर्किएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
यहाँका विभिन्न अस्पतालमा कार्यरत ३४ जना डाक्टर, ६४ जना नर्स तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत १ सय ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन गिताञ्जली ढकालले जानकारी दिएकी छिन्।
भरतपुर अस्पतालमा कार्यरत ९ जना डाक्टरसहित ५० जनालाई कोरोना पोजेटिभ देखिएको थियो भने बिहीबारमात्रै यस अस्पतालका २ जना नर्ससहितका ७ जना स्वास्थ्यकर्मीहरू संक्रमणमुक्त भएका छन्। अब १७ जनामात्रै निको हुन बाँकी रहेको अस्पतालले जानकारी दिएको छ।
त्यस्तै चितवन मेडिकल कलेजमा कार्यरत ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, बकुलहर रत्ननगर अस्पताल, सेन्ट्रल अस्पताल, मौलाकालिका अस्पताललगायत अधिकांश अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई कोरोना पोजेटिभ देखिएको थियो।
चितवनमा संक्रमण पुष्टि भएकाहरूमध्ये अधिकांशको अस्पतालबाटै स्वाब झिकिएको थियो। उपचारका लागि आएका बिरामी तथा शंका लागेर परीक्षणका लागि अस्पताल पुगेकाहरू धेरैमा संक्रमण देखिएको छ।