सामुहिक बलात्कारपछि किशोरीको आत्महत्या प्रकरणमा फरार अभियुक्तमध्ये दुई पक्राउ
सप्तरी, २ असोज । सप्तरीको डाकनेश्वरी नगरपालिका–७ की १६ वर्षीया किशोरी संगीता मण्डललाई बलात्कार गरेर फरार भएका अभियुक्तमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोही ठाउँका १८ वर्षीय रन्जित भन्ने सरोजकुमार मण्डल र १९ वर्षीय बब्लु भन्ने सुमनकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो भने घटनामा संलग्न अन्य दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ।
गत भदौ २९ गते धानखेतमा पानी लगाउन गएकी संगीतामाथि गाउँकै चार जना युवाले सामूहिक बलात्कार गरेको थियो भने बलात्कृत किशोरीले आत्महत्या गरेपछि अभियुक्तहरु फरार भएका थिए।
बलात्कारपछि स्थानीयले समेत केही रकममा मिल्न दबाब दिएपछि किशोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ।