६० वर्ष नाघेकाहरू घरबाहिर ननिस्कनू : स्वास्थ्य मन्त्रालय
काठमाण्डौ, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर नाघेका व्यक्तिलाई घरबाहिर ननिस्कन अपिल गरेको छ।
देशभर कोरोना संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको उमेर समूहलाई घरबाहिर ननिस्कन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतले आग्रह गरेका हुन्।
यस्तै मधुमेह, रक्तचाप, फोक्सोको समस्या, किड्नीका विरामी र क्यान्सर रोगीहरूलाई समेत मन्त्रालयले केही दिन घरमै बस्न आग्रह गरेको छ।
मन्त्रालयका अनुसार पछिल्लो समय काठमाडौं, पोखरा लगायत सहरी क्षेत्रमा संक्रमणसँगै जोखिम बढेको छ भने घरबाट बाहिर निस्कनु परेमा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
शुक्रबार २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ भने यो देशभर हालसम्मकै धेरै संक्रमित देखिएको मन्त्रालयले जनाएको छ।