भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघ्यो
एजेन्सी, ४ असोज । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ।
अहिलेसम्म भारतमा कोरोना भाइरसबाट ५४ लाख ६२० मानिसहरु संक्रमित भइसकेका छन् भने पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९२ हजार ६०५ नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै भारतमा कोरोना संक्रमणबाट ८६ हजार ७५२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १३३ जनाको मृत्यु भएको हो।
भारतमा अहिलेसम्म ४३ लाख तीन हजार ४४ संक्रमणमुक्त भएका छन् भने १० लाख १० हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी नै छन्।
भारतमा कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको महाराष्ट्रमा अहिले ३ लाख १ हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् भने आन्ध्र प्रदेशमा १ लाखभन्दा धेरै र उत्तर प्रदेशमा पनि ८४ हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी नै रहेका छन्।
पछिल्लो २४ घण्टामा भारतमा १२ लाख ६ हजार ८०६ नमुनाको कोरोना परीक्षण गरिएको थियो।