कोरोना संक्रमणबाट विदेशमा रहेका २४४ नेपाली नागरिकको मृत्यु
काठमाण्डौ, ४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा रहेका २४४ नेपालीको मृत्यु भएको जानकारी दिएको छ।
कोरोनाका कारण नेपालसहित विश्वभर १७ मुलुकमा जम्मा ६४५ नेपालीको मृत्यु भएको संघले जनाएको छ।
समितिका संयोजक सञ्जीव सापकोटाले दिएको जानकारी अनुसार गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन्।
कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन्।
विदेशमा अलपत्र ६९ हजार नेपालीको उद्धार गरिएको छ । संघ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको जनाइएको छ।