डा. केसीद्वारा औषधि र उपचार लिन अस्वीकार
जुम्ला, ५ असोज । जुम्ला प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गराएका अनशनरत डा. गोविन्द केसीले औषधि र उपचार लिन अस्वीकार गरेका छन्।
चिकित्सा शिक्षामा सुधारको माग गर्दै एक मन्दिरमा सत्याग्रह थालेका डा. केसीको स्वास्थ्य बिग्रिँदै गएपछि चिकित्सकले अस्पताल भर्ना गर्न सुझाव दिएपछि स्थानीय प्रशासनले उनलाई शनिबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा लगिए पनि उनले औषधि र उपचार लिन मानेका छैनन्।
डा. केसीका अनुसार प्रहरीले जबर्जजस्ती आफूलाई अनशनस्थलबाट उठाएको र आफ्ना माग पूरा नभएसम्म अस्पतालको उपचार नलिने अडान रहेको छ।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भएता पनि उनले उपचार लिन नमानेका हुनाले उनको उपचार हुन नसकेको अस्पतालका चिकित्सकले बताएका छन्।