विराटनगरमा प्याजको कालोबजारी गर्ने दुई जना व्यापारी पक्राउ
मोरङ, ५ असोज । विराटनगर महानगरपालिका ९ स्थित पसलहरूमा बजार मूल्य भन्दा बढी दर राखी प्याज विक्री गरी कालोबजारी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्याज कालोबजारी गरेको आरोपमा विजय कुमार योगेस पसलका संचालक ३८ वर्षीय संजय कुमार गुप्ता र तनिसा ट्रेडर्सका संचालक २९ वर्षीय मुकेश कुमार सहनीलाई प्रहरी नियन्त्रणमा लिएको छ।
उनीहरूले संचालन गरेका पसलहरूमा प्याजको कालोबजारी गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरूलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी कारवाही प्रकृया अगाडि बढाइएको छ।