पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सबै सर्तक रहन मौसम विभागको आग्रह
काठमाण्डौ, ५ असोज । जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन देशको अधिकांश क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको उल्लेख गर्दै विभागले एक विशेष बुलेटिन जारी गरेको छ।
यसैगरी हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बताइएको छ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम २० दशमलव शून्य र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणमा उल्लेख गरिएको छ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ।