चार दिनदेखि बेपत्ता रुपन्देहीका स्वास्थ्यकर्मी मृत फेला
रुपन्देही, ५ असोज । बुटवलबाट चार दिनदेखि बेपत्ता भएका एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ।
बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस कुलामा रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालका शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।
मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबका रुपमा कार्यरत नेपाल बिहीबार राति बुटवल उपमहानगरपालिका–९ स्थित एक होटलबाट लु२०प ४०६७ नं को मोटरसाइकलमा घर जाँदै गर्दा बेपत्ता भएका थिए।
नहर पार गरी जाने क्रममा पानीको बहाव उच्च रहेकाले बगाएको आशङ्कामा पानी बन्द गरेर खोजी गरिएको थियो । नेपालका श्रीमती र एक छोरा छन् भने उनका दाजु छविको पनि उपचारका क्रममा आइतबार मृत्यु भएको थियो।