९ किलो अफिमसहित दुई महिला पक्राउ
रोल्पा, ६ असोज । रोल्पाको थवाङ गाउँपालिका–२ बाट अफिम सहित दुईजना महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको थवाङ–२ ठुलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योती रोका र ४५ वर्षीया मुली झाक्रीलाई इन्स्पेक्टर शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार थवाङको छेर्लावाङबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिना ज्योती र मुलीको साथबाट ९ किलो ८२ ग्राम लागु औषध (अफिम) बरामद गरिएको हो भने अफिम तस्करी गर्ने गिरोहले साईड भिर्ने लेडिज ब्याग बोकाएर ति महिलालाई भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने अनुमान रहेको छ।
बिना ज्योती रोकाले बोकेको बुट्टेदार साईड ब्यागबाट ४ किलो ९३५ ग्राम र मुली झाक्रिले बोकेको रातो साइड ब्यागबाट ४ किलो ८८५ ग्राम लागुऔषध बरामद गरिएको छ।
अदालतबाट लागुऔषध मुद्धामा म्याद थपेर उनिहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।