चिनियाँ राष्ट्रपति सि जिनपिङका कट्टर आलोचकलाई भ्रष्टाचारको आरोपमा १८ वर्ष जेल सजाय
एजेन्सी, ६ असोज । चीनमा राष्ट्रपति सि जिनपिङका एक कट्टर आलोचकलाई भ्रष्टाचारको आरोपमा १८ वर्षको जेल सजाय सुनाइएको छ।
चीनको सरकारी रियल इस्टेट कम्पनी हुआयुआनका पूर्व अध्यक्ष रेन झिछियाङलाईे मंगलबार इन्टरमिडियट कोर्टले भ्रष्टाचारको आरोपमा १८ वर्षको जेल सजायसंगै थप ४२ लाख चिनियाँ युआन बराबरको जरिवानाको फैसला पनि सुनाएको छ।
अदालतको फैसला अनुसार रेनले ११ करोड १० लाख युआनबराबरको आर्थिक हिनामिना वा दुरुपयोग गरेका थिए भने एक अर्ब २५ करोड युआन घुस लिएको र आफ्नो पदको दुरुपयोग गर्दै कम्पनीलाई ११ करोड ७० लाख युआनको नोक्सानीमा लग्नुका साथै उनले एक करोड ९४ लाख युआनभन्दा धेरै रकम आर्जन गरेको पाइएको छ।
रेनले आफूमाथि लागेको सबै आरोप स्वीकार गरिसकेको अदालतले बताएको छ भने यो फैसलाको पुनरवलोकनको निवेदन दिन पाइनेछैन।
गत मार्च महिनामा कोरोना भाइरस नियन्त्रण गर्न नसकेको भन्दै राष्ट्रपति सि जिनपिङको आलोचना गरेसँगै उनी पक्राउ परेका थिए । पछि बेइजिङको भ्रष्टाचारविरोधी नियामक संस्थाले उनीमाथि गम्भीर अनुशासनको उल्लंघनको मुद्दामा अनुसन्धान भइरहेको बताएको थियो । उनलाई गत जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यबाट पनि हटाइएको थियो।