सीमा क्षेत्रमा थप सैनिक नपठाउने चीन र भारतबीच सहमति
एजेन्सी, ७ असोज । चीन र भारतबीच सीमा क्षेत्रमा तनाव बढीरहेको बेला दुबै देशले सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति गरेका छन्।
अंग्रेजी पत्रिका द हिन्दूका अनुसार कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तामा दुई देशबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति भएको हो । वार्तापछि निकालिएको संयुक्त विज्ञप्तीमा सीमामा थप सैनिक नपठाउनेसहित अहिलेको अवस्थामा कुनै किसिमको परिवर्तन नगर्ने सहमति पनि बनेको खबरमा उल्लेख गरिएको छ।
खबरमा उल्लेख भए अनुसार दुवै देशले वास्तविक नियन्त्रण रेखामा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति गरेको भएतापनि अहिले नै सैनिकलाई पछि हटाउने सहमति भने बनेको छैन।
यस्तै चीन र भारतबीच जतिसक्दो छिटो कोर कमाण्डर स्तरको सातौं चरणको बैठक वार्ता गर्ने पनि सहमति भएको छ भने यसैगरी सीमा पारी शान्ति कायम गर्नको लागि पनि कुनै ठोस कदम उठाउने बारेमा वार्ता भएको छ।