अत्यावश्यक भएमात्रै लामो दूरीको यात्रा गर्न र घरबाटै खाना र खाजा प्याक गरेर लैजान विभागको आग्रह
काठमाण्डौ, ७ असोज । यातायात व्यवस्था विभागले हालको परिस्थितिलाई मध्यनजर गर्दै लामो दूरीको यात्रा गर्दा घरबाटै खाना बोकेर जान आग्रह गरेको छ।
विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक भएमात्रै लामो दूरीको यात्रा गर्न समेत अपील गरेको छ।
विभागले राजमार्गका होटलहरुमा खाना र खाजा खाँदा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले यात्रामा हिँड्दा सकेसम्म आफैंले घरमा प्याकिङ गरेको खाद्यवस्तु बोक्न उपयुक्त हुने बताउँदै सडक आसपासका होटल तथा रेष्टुरेन्टलाई पनि स्वच्छ खाजा र खाना प्याकिङ गरेर बिक्री गर्ने प्रवन्ध गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।
विभागले यात्रु तथा यातायात चालक र सहचालकले समेत तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सबैलाई आग्रह गरेको छ।