स्याङ्जाको वालिङमा पहिरोले पुरिएर ५ जनाको मृत्यु, ४ जना बेपत्ता
स्याङ्जा, ८ असोज । पहिरोले पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ।
आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका ५ जनाको शव निकालिएको छ भने अझै ४ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ।
अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको प्रहरी जनाएको छ।
प्रहरीका अनुसार वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको पहिरोमा पुरिएर मुत्यु भएको हो।
एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह«ौं प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् भने माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ।