ललितपुरको भट्टेडाँडामा पहिरोमा परी पाँच जना घाइते, उद्धारका लागि हेलिकप्टर पठाइँदै
ललितपुर, ८ असोज । ललितपुरको भट्टेडाँडास्थित कान्ति लोकपथमा पहिरो जाँदा दुई टिपर र एक मोटरसाइकल पुरिएका छन्।
बुधबार साँझ बागमती गाउँपालिका ३ भट्टेडाँडास्थित कान्ति लोकपथमा गएको पहिरोमा परी पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
महानगरीय प्रहरी वृत्त चापागाउँका अनुसार बुधबार साँझ पहिरो गए पनि बिहीबार बिहानमात्र उद्धारमा प्रहरी पुगेको छ। घाइते पाँचै जनाको स्थानीय स्वास्थ्यकर्मीले उपचार भइरहेको छ भने उनीहरूलाई थप उपचारका लागि कतै पनि ल्याउन सकिएको छैन।
उक्त ठाउँमा गाडी जानसक्ने अवस्था नभएकोले घाइतेमध्ये कुमार नगरकोटीको अवस्था गम्भीर भएको कारण थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य नवराज सिलवालले जानकारी दिएका छन्।