नेपाली रुपैयाँ १२ लाख बराबरका नक्कली नोटसहित २ जना पक्राउ
बारा, ८ असोज । प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरिया नहरबाट १२ लाख १६ हजार नेपाली नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ।
१ हजार दरका १ हजार २ सय १६ थान नक्कली नोटसहित बाराको बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी घर भएका २७ वर्षीय सन्दीप कुमारलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बा ६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा नक्कली नोटसहित पक्राउ गरिएको हो भने प्रहरीलाई दिएको बयानमा उनीहरुले ती नोट ३० थान मोबाइल सेट बिक्री गरेर प्राप्त गरेको बताएका छन्।
मोबाइल खरिद गर्ने व्यक्तिहरुले ३० थान मोबाइल सेट लिएर आफूहरुलाई ती नोट दिएर फरार भएको उनीहरुले बयान दिएका प्रहरीले जानकारी दिएको छ।
प्रहरीले मोबाइल लिएर फरार भएका व्यक्तिहरुको खोजी शुरु गरिएको पनि जानकारी दिएको छ।