कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्य उपकरण खरिद अनियमितता प्रकरणमा लेखाले आगामी बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने
काठमाण्डौ, ८ असोज । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोभिड १९ नियन्त्रणका लागि सरकारले किनेको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छलफल गर्न आगामी बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ।
स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे अध्ययन गरिरहेको लेखा समितिले मन्त्री ढकाल र सचिवलाई समितिमा बोलाउने निर्णय गरेको हो।
समितिले यसअघि ओम्नी ग्रुपसँग भएको स्वास्थ्य सामाग्री खरिदबारे तत्कालीन स्वास्थ्य सचिव र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकसँग छलफल गरेको थियो । लेखा समितिमा उपस्थित उनीहरूले कोरोना रोकथाम नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको दबाबमा खरिद प्रक्रिया अगाडि बढाएको बताएका थिए।
लेखाले प्रारम्भिक अध्ययनमा स्वास्थ्य उपकरण खरिदमा बदमासी भएको निष्कर्ष निकालेको थियो । लेखाको अनुसार बैठकको मिति तय भइनसके पनि अर्को हप्ता समितिको बैठक बस्नेछ।