पीसीआर रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे आएपनि ल्याबहरुले सम्बन्धित व्यक्तिलाई नै दिनु : स्वास्थ्य मन्त्रालय
काठमाण्डौ, ११ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब दिनेको रिपोर्ट सम्बन्धितलाई व्यक्तिलाई सिधै जानकारी गराउन सरकारी तथा निजी ल्याबहरुलाई निर्देशन दिएको छ।
यसअघि नेगेटिभ रिपोर्ट आए सम्बन्धित पक्षलाई र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था थियो भने अब भने जे रिपोर्ट आएपनि सिधै सम्बन्धितलाई नै जानकारी गराउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
डा. गौतमको भनाइ अनुसार पहिले जतिपनि संक्रमित थिए उनीहरुलाई स्वास्थ्य संस्थाको आइसोलेशनमा मात्रै राख्ने व्यवस्था रहेकोमा अहिले होम आइसोलेशनमा पनि राख्ने व्यवस्था रहेकाले यसअघिको निर्णय परिवर्तन गरिएको हो ।
यसैगरी कोरोना संक्रमितलाई रोग नियन्त्रण महाशाखाले जानकारी गराउने भन्दा पनि ल्याबले सिधै जानकारी गराउँदा व्यवस्थापनमा छिटो हुने मन्त्रालयको भनाइ छ।