छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ
धादिङ, १३ असोज । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाबाट एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
आफ्नै १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोग लागेपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका ३५ वर्षका एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले सोमबार पक्राउ गरी हिरासतमा लिएको हो।
घरमा आमा र भाइ नभएको बेलामा असोज ८ गते पछि पटक–पटक आफूलाई बाबुले बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताएकी छिन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण पछि उनलाई प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएको छ।
घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदा समेत सहयोग नगरेको बालिकाको गुनासो छ। घरमा बसेर आफूले न्याय नपाउने देखेपछि घर छाडेर भागेको बालिकाले बताइन्।
त्यस्तै बाबुले आफूलाई पटक पटक बलात्कार गर्दै आएकाले पिडा सहन नसकेर छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्वार गरेको थियो।