असोज १९ गतेदेखि तातोपानी नाका खुल्ने
सिन्धुपाल्चोक, १३ असोज । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ।
यही असोज १९ गते (अक्टोबर ५) देखि चीनबाट सामान नेपाल आइपुग्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिएका छन्।
मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको हो।
प्रजिअ ढकालले दिएको जानकारी अनुसार दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको हो।
नाका खुल्ने दिनसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुपर्ने प्रजिअ ढकालले बताएका छन्।
यसैगरी चीनबाट ल्याएका सामान लोड अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५ जना र २९ जनाको दुई वटा श्रमिक समूह तयारी अवस्थामा रहनेछ भने श्रमिकको हरेक ५/५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालाबहादुर खत्रीले जानकारी दिएका छन्।
छलफलमा नेपालको तर्फबाट सिन्धुपाल्चोकको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, भन्सार प्रमुख, सीमा सुरक्षा बलका अधिकारी र जिल्ला प्रहरी प्रमुखलगायतको सहभागिता थियो।
नेपालतर्फ पहिरो खसेका कारण असार २४ गतेदेखि नेपालकै आग्रहमा तातोपानी नाका बन्द गरिएको थियो । तर सडक मर्मत सकिएपछि नेपालले आग्रह गर्दा पनि तिब्बतको हिमताल फुट्ने जोखिमलाई कारण देखाउँदै चीनले नाका खोल्न आनाकानी गरेको थियो।