पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक पक्राउ
काठमाण्डौ, १४ असोज । पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाण्डौ आएको ना४ख ३०८५ नं को ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार साँझ आयल निगमको थानकोट डिपोबाट नियन्त्रणमा लिएको हो।
नक्कली ट्याङ्कीको चाबी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन तेल मिसाएको सूचनाका आधारमा सुवेदीलाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिएका छन्।
नेपाल आयल निगम थानकोट शाखाका प्रमुख प्रदीप यादवका अनुसार पेट्रोलमा ६०० लिटरभन्दा बढी तारपिन तेल मिसाएर ल्याएकाले कारवाही गरिएको हो।
दुई साताको अवधिमा आयल निगमले पेट्रोल तथा डिजेलमा मिसावट गर्ने तथा चोरी गर्ने ६ चालकलाई पक्राउ गरी कारवाही गरिसकेको छ।