बाघको आक्रमणबाट एकको मृत्यु, दुई घाइते
रौतहट, १४ असोज । बाघको आक्रमणबाट रौतहटमा एक पुरूषको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका ६ चिम्नी टोल बस्ने २७ वर्षीय संगम भण्डारीको मृत्यु भएको हो भने चिम्नी टोलकै ३० वर्षीय अशोक थापा र ३४ वर्षीय प्रविन श्रेष्ठ भने घाइते भएका छन्।
इलाका प्रहरी कार्यलाय चन्द्रपुर र सशस्त्र प्रहरीको टोलीले बुधबार बिहान साढे १० बजे संगमको शव फेला परेको हो।
इलाका प्रहरी कार्यलाय चन्द्रपुरका अनुसार मंगलबार बिहान ७ बजे वडा नम्बर ४ मा रहेको जंगलमा घाँस काट्न गएका संगम बेलुकीसम्म पनि नफर्किएपछि आफन्त र स्थानीय गरी १४ जनाले टोली बनाएर संगमलाई खोज्न बुधबार बिहान सोही जंगल पसेका थिए तर बाघले उनीहरूमाथि पनि आक्रमण गरेको हो।
घाइते भएका अशोक र प्रविनको कान, गाला, छाती, कुममा बाघले चिथोरेको छ भने उनीहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार एक झाडीमा संगमको कम्मरभन्दा मुनिको भाग खाएको अवस्थामा शव फेला परेको छ भने अहिले प्रहरीको मुचुल्का टोली त्यहाँ पुगिसकेको छ।