स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पालना गर्दै पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला
एजेन्सी, १४ असोज । कोरोनाभाइरसको महामारीका कारण बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था खुल्न थालेका छन् । झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस सङ्क्रमित भएको पनि अधिकारीहरुले जनाएका छन्।
सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय रहेको जनाइएको छ भने सञ्चालन गर्न थालिएका विद्यालयमा विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पलनामा भने अत्यन्त कडाइ गरिएको छ।
अधिकारीहरुका अनुसार मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको छ।
केन्द्रीय शिक्षा मन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताएका छन्।
कोरोनाभाइरसको महामारीका बारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको पनि उनले जानकारी दिएका छन्।