आईजिपी थापा क्षेत्रीले भने, ‘निर्मला हत्या प्रकरणबारे चाँडै निष्कर्षमा पुग्छौ’
काठमाण्डौ, १४ असोज । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्याबारे गहिरो अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
महानिरीक्षक थापा क्षेत्रीले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको भन्दै अब चाँडै अनुसन्धानलाई निष्कर्षमा र्पुयाइने दाबी गरेका छन्।
उनका अनुसार निर्मला प्रकरणमा विगतमा भएका कमी कमजोरीले प्रहरीको छविमा ठूलो धक्का लागेको हुनाले अब कुनै पनि हालतमा घट्नालाई निष्कर्षमा र्पुयाइनेछ।
त्यसका लागि केन्द्रबाट प्रहरी अधिकृत पठाइसकेको र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको कमान्डमा काम भइरहेको पनि उनको भनाइ छ।
२०७५ साल साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी ११ वर्षीया निर्मला पन्तको हत्यामा संलग्न अहिले पनि पक्राउ परेका छैनन्। जसले गर्दा प्रहरीमाथि ठूलो दबाब छ।
नयाँ प्रहरी प्रमुख थापाको कार्यकालमा निर्मला प्रकरणलाई नै सबैभन्दा चुनौतीका रुपमा पनि हेरिएको छ।