पीसीआर परीक्षणमा बढी शुल्क लिने आठ वटा प्रयोगशाला र अस्पतालको अनुमति खारेज गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
काठमाण्डौ, १४ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको बढी शुल्क लिएको भन्दै आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएकाले तत्काल शुल्क समायोजन गर्न निर्देशन दिइएको छ भने २४ घण्टाभित्र ती प्रयोगशालाहरूले शुल्क नघटाए परीक्षण स्वीकृति समेत खारेज गरिनेछ र त्यसका लागि राष्ट्रिय जनस्वास्थ्यलाई पत्राचार गर्न निर्देशन दिइसकिएको छ।
मन्त्रालयको गुणस्तर मापन महाशाखाले बुझाएको प्रतिवेदनमा ह्याम्स हस्पताल, डिकोड ल्याब, इन्टिपेड ल्याब, नेपाल मेडिसिटी, सिडिएल, स्टार अस्पताल, बिएन्डबी र सूर्य हेल्थ केयरले सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको पाइएको हो।
सरकारले सबै प्रयोगशालालाई अधिकतम दुई हजार रुपैयाँ लिएर कोरोना भाइरसको पिसिआर परीक्षण गर्न भनेको छ। तर केही प्रयोगशालाहरूले सरकारले तोकेको शुल्कमा परीक्षण गर्न नसकिने भन्दै बढी शुल्क लिएर परीक्षण गरिरहेका छन्।