मिडियाका सम्पादकहरुलाई केही भन्न हुन्न बुरुक्क उफ्रिहाल्छन् : प्रधानमन्त्री
१५ असाेज, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मिडिया सम्पादकहरुसँग गुनासो पोखेका छन् । बुधबार साँझ मिडिया एलायन्सका पदाधिकारीहरुसँग कुरा गर्दै उनले गुनासाे पाेखेका हुन् ।
उनले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताए । सञ्चारमाध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर सञ्चारमाध्यमलाई आफुले एकपटक सुझाव दिँदा सहन्न भन्ने प्रवृति सम्पादकहरूमा देखिएको प्रधानमन्त्री ओलीले बताए ।
सरकारलाई दिनरात गालि गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने उनले बताए ।
‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भनेपनि छुट पाइन्छ । सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ । यसो छोयो भनेदेखि बुरुक्क उफ्रिहाल्ने । करेन्ट लागेजस्तो,’ उनले भने ।
‘अलि अगाडि म सँग सञ्चारकर्मीहरु सम्पादकहरु भेटनुभयो । तर उहाँहरुले मलाई हामीलाई यसो किन भन्नुभयो भनेर भन्नुभयो । मैले भने तपाईहरुलाई दिनरात गालिगर्दा हुन्छ । मैले अलिकति भने भने तपाईहरु दिनरात गालि गर्ने मैले किन यसो गर्यौ भन्दा सहनुपर्छ भनेर सिकाउने अनि मैले अलिकति भनदा सहन नसक्ने के हो यो । आफुले भनेको भन्यै गर्ने यसो नगर्नुस न भन्दा सहन सिक्नुपर्छ भन्ने । मैले अलिकति सुझाव दि एभने सहन्न भनिहाल्ने ।’
प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्ने प्रवृति रहेको पनि बताए । बाकसमा रहने भ्यागुताको उदाहरण दिँदै कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्ने प्रवृति रहेको उनको भनाइ छ ।