युएईमा आईपीएल, नेपालमा सट्टेबाजी !
१५ असोज, विराटनगर । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को सट्टेबाजी गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् । मोरङको विराटनगरबाट ठूलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर–१५ का ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र विराटनगर–१७ का ४२ वर्षीय जगदिश साह रहेका छन् ।
पक्राउ परेका तीनै जनाले आईपीएल क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १३ गते राति पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट नगद ६० हजार रुपैंया, १ थान ल्याप्टप, ३ थान मोबाईल र १ थान मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुले अनलाइनबाट कुन टिमको हार–जित हुन्छ भनी बाजी मार्नका लागि रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका तीनै जनामाथि कानुनी कारबाही अगाडि बढाईएको उक्त कार्यालयले जनाएको छ ।