नक्कली इन्स्पेक्टर बनेर असईको परीक्षा चलाउने व्यक्ति पक्राउ
पर्सा, १५ असोज । नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाक लगाएर ठगी गर्दै हिँड्ने नक्कली इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ।
बारा जितपुर सिमरा उपमहानगरपालिका ७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई पर्सा प्रहरीले बुधबार वीरगन्ज १६ को देव पार्टी प्यालेसमा प्रहरी सहायक निरीक्षक र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै गरेको अवस्थामा बर्दीमै पक्राउ गरेको हो । उनले ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै ठगी गर्दै आएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार उनले परीक्षामा बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थीलाई परीक्षामा संलग्न गराएका थिए भने सो परीक्षा सञ्चालनमा सहयोग गर्ने प्रयोजनको परीक्षा दिलाउने भनी उनले फोन गरेर उनीहरूलाई बोलाएको र यी परीक्षार्थीलाई उनले ठग्न खोजेका थिए।
परीक्षार्थीहरूसँग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामती खरिदार समेतमा जागिर लगाइदिन्छु भनी विगत ९ महिनादेखि प्रहरी चौकी परवानीपुर,इलाका प्रहरी कार्यालय नगवा पर्सामा गएर म प्रहरी निरीक्षक हुँ भनी परिचयसमेत दिँदै हिँडेको पाइएको छ भने उनले हालसम्म एक दर्जन व्यक्तिबाट तीन लाख ६१ हजार रुपैयाँ ठगिसकेको पत्ता लागेको प्रहरीले बताएको छ। \
राय यसअघि बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा जेल परेका थिए र सो मुद्दामा ११० दिन जेल परेका थिए।
प्रहरीका अनुसार उक्त परीक्षा हलबाट परीक्षा सञ्चालनका लागि रायलाई सहयोग गरिरहेका हिरालाल महतो वसन्त चौधरी, रविकुमार चौरसिया, शिवनारायण चौरसिया, रामजी चौरसियालाई पनि पक्राउ गरिएको छ।
प्रहरीले रायसहित पक्राउ परेकाहरूमाथि थप अनुसन्धान थालेको छ।