भंगहा नगरपालिकाका वडा सचिव जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
महोत्तरी, १५ असोज । महोत्तरीको भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादव दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
मुसहरी टोलकी दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सोही वडाका एक दलित महिलालाई बजारबाट घर जाँदै गरेको अवस्थामा बुधबार साँझ वडा सचिव यादवले जबरजस्ती करणी गरेको आरोप लागेको छ।
‘बलात्कार भए नभएको पुष्टी मेडिकल परीक्षण गरेपछि मात्रै थाहा हुनेछ भने महिलाले दिएको बयानको आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको हो र परीक्षण रिपोर्ट आएपछि थप अनुसन्धान शुरू हुने जिप्रका महोत्तरीले बताएको छ।
अहिले वडा सचिव यादवलाई प्रहरी हिरासतमा राखिएको छ भने स्थानीयहरूका अनुसार वडा सचिव यादवले अत्याधिक मदिरा सेवन गरेका थिए।