फाती चम्किँदा बार्सिलोनाको लगातार दोस्रो जित
१६ असोज, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो दोस्रो जित निकालेको छ । बिहीबार राति बार्सिलोनाले सेल्टा भिगोमाथि ३–० गोल अन्तरको जित दर्ता गरेको हो ।
सेल्टाको मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन अन्सु फाती र सर्जि रोबर्टोले समान एक–एक गोल गरे । बार्सिलोनाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।
खेलको ११ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता बनाएका थिए । खेलको ४२ औं मिनेटमा क्लिमेन्ट लेंग्लट रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना दश खेलाडीमा सीमित बन्न पुगेको थियो ।
खेलको ५१औं मिनेटमा सेल्टाका लुकास ओलिजाले आत्मघती गोल गरेपछि बार्सिलोनाले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।
यस्तै खेलको इन्ज्युरी समयमा रोबर्टोले गरेपछि बार्सिलोनाले ३–० गोलको सहज जित निकालेको हो ।
यससँगै बार्सिलोनाले दुई खेलबाट ६ अंक जोडेको छ । ऊ लिगको पाँचौं स्थानमा उक्लिएको छ । यसअघि बार्सिलोनाले पहिलो खेलमा भिल्लारियलमाथि ४–० गोलको जित निकालेको थियो ।