पेनाल्टीमा आर्सनलको भाग्य चम्क्यो, लिभरपुल स्तब्ध
१६ असोज, काठमाडौं । आर्सनलले काराबाओ कपमा सर्वाधिक सफल क्लब लिभरपुललाई हराएको छ । बिहीबार राति भएको चौथो चरणको खेलमा सर्वाधिक धेरै आठ पटकको विजेता टोली लिभरपुलमाथि आर्सनलले पेनाल्टी सुटआउटमा ५–४ गोलको जित निकालेको हो ।
लिभरपुलको मैदान एन्फिल्डमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा लिभरपुलका ह्यारी विल्सन र डाइभक ओरिजी गोल गर्न चुके भने आर्सनलका मोहम्मद इलेनी गोल गर्न असफल भएका थिए ।
यससँगै आर्सनलले क्वार्टरफाइनलमा स्थान बनाएको छ । गए राति नै एस्टोन भिल्लालाई हराउँदै स्टक सिटीले क्वार्टरफाइनलमा स्थान बनाउँदा ब्रेन्टफर्डले फुलह्यामविरुद्ध जित निकाल्दै अन्तिम आठमा स्थान बनायो ।
त्यसअघि चेल्सीलाई हराउँदै टोटनह्याम, बर्नेलीलाई हराउँदै म्यानचेस्टर सिटी, ब्राइटनलाई हराउँदै म्यानचेस्टर युनाइटेड, वेस्ट ह्यामलाई हराउँदै इभर्टन र न्यूपोर्ट कन्ट्रीलाई हराउँदै न्यूकासल अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।