प्रहरी हुँ भन्दै धम्की दिँदै रकम असुल्ने एक जना काठमाडौँबाट पक्राउ
काठमाण्डौ, १६ असोज । आफू प्रहरी भएको भन्दै धम्की दिँदै रकम असुल्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
ओखलढुङ्गा लिखु गाउँपालिका ३ दामनाङटार घर भइ भक्तपुर नयाँठिमी बस्ने ३२ वर्षीय कुल बहादुर बस्नेतलाई काठमाण्डौ महानगरपालिका १ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार बस्नेत सहित ४ जनाले प्रहरी हुँ भन्दै उक्त प्रालिमा गिट्टी बालुवा झारेको पैसा माग्नुका साथै धाकधम्की दिई हुलहुज्जत समेत गरेका थिए र यसबारे जानकारी पाएलगत्तै महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।