डेरामा बस्नेलाई पीसीआर परीक्षण गर्न बाध्य नपार्न घरधनीलाई काठमाडौं महानगरपालिकाको आग्रह
काठमाण्डौ, १६ असोज । काठमाण्डौ महानगरपालिकाले डेरामा बस्नेहरुलाई पीसीआर परीक्षणका लागि दबाब नदिन घरधनीहरुलाई आग्रह गरेको छ । महानगरको जनस्वास्थ्य महाशाखाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
पछिल्लो समय उपत्यकामा निषेधाज्ञा हटेसंगै विभिन्न जिल्लाबाट काठमाण्डौ भित्रिनेको संख्या बढेको छ र सोही क्रममा घरधनीहरूले जिल्लाबाट फर्किएका डेराबासीलाई पीसीआर परीक्षणको रिपोर्ट देखाएपछि मात्रै भित्र पस्न दिने भनेपछि टेकुमा पीसीआर परीक्षणको लाम लागेको थियो।
डेरावालहरुबाट गुनासो आएको भन्दै महानगरले घरधनीहरुलाई त्यस्तो व्यवहार नगर्न आग्रह गरेको छ।
महानगरको जनस्वास्थ्य महाशाखाद्वारा जारी सूचनामा उल्लेख भए अनुसार केही दिन यता काठमाडौं महानगर क्षेत्रभित्र बसोबास गर्ने डेरावाललाई घर धनीले अनिवार्य पिसिआर रिपोर्ट आवश्यक पर्ने भन्ने गुनासो आएकाले जवर्जस्ती परीक्षणका लागि बाध्य नपार्न अनुरोध गरिएको छ।