परपुरषसँग सम्बन्ध राखेको आरोपमा श्रीमतीलाई दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित ७ जना पक्राउ
हुम्ला, १७ असोज । हुम्लाको सिमकोटमा एक महिलालाई परपुरुषसंग सम्बन्ध राखेको भन्दै दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिमकोट गाउँपालिका–७ ओख्रेनाकी २३ वर्षीया महिलालाई दिसा खुवाउँदै गाउँ डुलाउनेजस्ता अमानवीय व्यवहार गर्ने श्रीमानसहित सात जनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरेको हो।
प्रहरीका अनुसार ती महिलाको उद्दार गरिसकिएको छ भने परपुरुषसँग लागेको आरोपमा श्रीमान र गाउँलेले मुखमा मोसो दलेर जुत्ताको माला समेत लगाइदिई कुटपिट गरेर आफूलाई दिसासमेत खुवाइएको ती पीडित महिलाले बताएकी छन्।
पीडित महिलाका श्रीमानसहित सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ भने उनीहरुमाथि कुटपिट र अभद्र व्यवहारमा संलग्नलाई कारबाही गर्ने प्रहरीले जनाएको छ।
दुई वर्षका छोरी र ४ वर्षका छोरा भएकी ती पीडित महिलालाई अहिले संरक्षणका लागि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ।