प्रदेश ५ राजधानी विवाद : सरकारको प्रस्तावको विरोधमा रुपन्देही कांग्रेसद्वारा आन्दोलनको घोषणा
बुटवल, १६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले प्रदेश राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा आन्दोलन घोषणा गरेको छ।
शनिबार बुटवलमा बसेको पार्टीको वैठकले सरकारको प्रस्तावविरुद्ध भोलि आइतबार रुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने र १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको छ।
प्रदेशसभामा दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव पेश भएको छ भने १९ गते त्यसमाथि छलफल गर्ने तयारी रहेको छ।
पार्टी सचिव रामकृष्ण खांणका अनुसार कांग्रेसले त्यही दिन जिल्लाभरबाट कार्यकर्ता बुटवल उतारेर सांसदहरुलाई प्रदेश सभा वैठकमा जान नदिने रणनीति अख्तियार गरेको छ भने बिहान १० बजेदेखि ५ बजेसम्म प्रदेशसभा घेराउ गर्ने कार्यक्रम तय गरिएको छ।