प्रधानमन्त्री ओलीका तीन सल्लाहकारमा पनि कोरोना संक्रमण पुष्टि
काठमाण्डौ, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईमा कोरोना सक्रमण पुष्टि भएको छ।
रिमालले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
शुक्रबार गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो। कोरोना भेटिएपछि रिमालले आफ्नो सम्पर्कमा आएकालाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरेका छन्।
‘हिजो गरिएको पीसीआर परीक्षणमा ममा पनि कोरोना पोजिटिभ देखियो’, उनले ट्विटरमा लेखेका छन्, ‘यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु।’
सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
उनले फेसबूकमा लेखेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजेटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु।’
त्यस्तै परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले पनि सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका छन्।
यता, प्रधानमन्त्रीकै सचिवालयका फोटोग्राफर राजन काफ्लेलाई पनि संक्रमण भएको छ।