बाँकेमा कोरोनाबाट सुत्केरी महिलाको ज्यान गयो
१८ असाेज, नेपालगञ्ज । बाँकेमा कोरोनाबाट सुत्केरी महिलाको ज्यान गएकाे छ । बाँकेमा उपचाररत कञ्चनपुरकी कोरोना संक्रमित २९ वर्षीया सुत्केरी महिलाको आइतबार मृत्यु भएको हो ।
महेन्द्रनगर २ घर भएकी ती महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान साढे ४ बजे उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
असोज १३ गते कोरोना पुष्टि भएकी ती महिला असोज १५ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी थिइन् ।
सेती अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी ती महिलाको रक्तश्राव नरोकिएपछि पाठेघरको शल्यक्रिया गरिएको थियो ।
तर, उपचारका क्रममा स्वाब लिई परिक्षण गर्दा कोरोना देखिएपछि उनलाई कोहलपुर रेफर गरिएको थियो । भर्ना गर्दा उनी बेहोस अवस्थामा थिइन् ।
योसँगै बाँकेमा वाहिरी जिल्लाका उपचारका लागि आएका ९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।