१८ असोज, लण्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन् । एनआरएनअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाले यो साता साउथ अफ्रिकामा रहेका १ जना नेपालीको ज्यान गएको जानकारी दिए । समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ ।
समितिका संयोजक डा. संजीव सापकोटाका यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ६२ हजार ७ सय ४० जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो । हालसम्म नेपालमा ५ सय २८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।