भक्तपुरमा १७ बर्षीया किशोरीको बसभित्र सामूहिक बलात्कार, दुईजना पक्राउ
काठमाण्डौ, १८ असोज । भक्तपुरमा १७ वर्षीया किशोरीमाथि बसमा सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार भएको छ।
भक्तपुर नगरपालिका–८ कालाँचामा रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा३ ख २६१२ नम्बरको बसमा ३ जनाले युवतीमाथि सामूहिक बलात्कार गरेको महानगरीय प्रहरी वृत जगातीले जानकारी दिएको छ।
बलात्कारमा संलग्न सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार बलात्कारमा संलग्न अर्का एकजना आरोपी फरार छन् भने घटनास्थलको रुपमा प्रयोग भएको बस नियन्त्रणमा लिइएको छ।
बलात्कारमा संलग्न आरोपी सो गाडीका स्टाफ रहेको र आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेको प्रहरीले बताएको छ।
शनिवार साँझ ४ देखि ५ बजेसम्म बलात्कारको शिकार भएकी किशोरी त्यहँबाट फुत्केर प्रहरीकहाँ पुगेकी थिईन् र ‘लठ्याउने औषधी खुवाएर’ आफुमाथि बलात्कार गरिएको किशोरीले प्रहरीसँग बताएकी छिन्।